• Post category:लेख
  • Post last modified:मंसिर १९, २०८१
  • Reading time:2 mins read

हितोपदेश १:७ मा लेखिएको छ,

परमप्रभुको भय नै ज्ञानको शुरू हो; तर मूर्खहरूले बुद्धि र शिक्षालाई तुच्छ ठान्छन्।”

संसार ज्ञानको खोजमा डुबेको छ। ज्ञानको लागि नै सानैदेखि नानीहरूलाई धेरै खर्च गरेर आमाबूबाले स्कुल पठाउँछन्। ज्ञानकै खोजिमा धेरै वर्ष एक युवाले शैक्षिक संस्थाहरूमा समय बिताउँछ। शैक्षिक संस्थाहरू पनि ज्ञान र शिक्षा दिने वाचासहित राम्रै शुल्क लिन्छन्। तर धेरै वर्ष शैक्षिक संस्थामा अध्ययन गर्दैमा ज्ञान प्राप्‍त हुन्छ भन्‍ने निश्‍चयता हुँदैन। विश्‍वकै उत्कृष्ट विद्यालय र कलेजहरूमा अध्ययन गरे पनि साँचो ज्ञान पाइन्छ भन्‍ने निश्‍चित हुँदैन। बाइबल अनुसार त साँचो ज्ञान परमेश्‍वरको भयबाट शुरू हुँदछ! कुनै शैक्षिक संस्थाको डिप्लोमा पाउँदैमा साँचो ज्ञान पाइन्न। तर परमेश्‍वरको भय नै ज्ञानको शुरू हो!

के तपाईले आज साँचो ज्ञान पाउनुभएको छ? मानिसहरू ज्ञानको लागि भौंतारिरहेका छन्। विद्यालय र कलेजका डिग्रीहरूले जागिर र सम्मान त देलान् तर मानिसको वास्तविकता, प्राणको मुक्ति, अनन्त गन्तव्य जस्ता अति महत्वपूर्ण विषयहरूको सहि ज्ञान दिन सक्दैन। अनन्त साँचो ज्ञान परमेश्‍वरको भयबाट मात्रै शुरू हुँदछ।

हाम्रा नानीहरूलाई औपचारिक शिक्षाको लागि स्कुल, कलेजमा पठाउनु ठिकै होला तर साँचो ज्ञान उनीहरूले ती शैक्षिक संस्थाहरूबाट पाउलान् भन्‍ने भ्रममा नपरौं! परमेश्‍वरको भय नानीहरूलाई सिकाऔं। परमेश्‍वरको वचनबाट सिकाऔं! उनीहरूले साँचो ज्ञान पाए भने अरू सबै ज्ञानहरूलाई सहि कोणबाट बुझ्‍न सक्छन्। साँचो ज्ञान, सत्यताले उनीहरूलाई सहि मार्ग देखाउँदछ। आफ्नो जीवनलाई अर्थपूर्ण बनाउन सिक्नेछन्!

आज हाम्रो चाहना केवल औपचारिक शिक्षा मात्रै होइन तर त्यो भन्दा बढी साँचो ज्ञान हुनुपर्दछ! यो साँचो ज्ञान चाहिँ परमेश्‍वरको भयबाट शुरू हुँदछ अर्थात् परमेश्‍वरलाई साँचो रूपमा चिन्छौं र उहाँको भयमा जीवन अघि बढाउँछौं। आफ्नो वचनद्वारा परमेश्‍वरले हामीलाई डोर्याउनुहुन्छ! संसारको लहलहैमा लागेर औपचारिक शिक्षाको लागि मरिहत्ते गर्ने अनि साँचो ज्ञानलाई लत्याउने भुल नगरौं! यदि त्यस्तो भुल गर्छौं भने त्यसले हाम्रो र हाम्रा नानीहरूका जीवनमा ल्याउने दुखद प्रतिफलहरूका लागि आँशु नझारौं!

Leave a Reply