• Post category:लेख
  • Post last modified:कार्तिक २९, २०८१
  • Reading time:6 mins read

विवाह के हो?

             पवित्र शास्त्र वाइबलको पुस्तक हितोपदेशमा यसरी लेखिएको छ,जसले पत्नी पाउँछ, उसले असल कुरा पाउँछ र परमप्रभुबाट कृपा प्राप्त गर्छ” (हितोपदेश १८:२२)। मानव समाजमा विवाह आदरणीय हो। एक पुरुषले एक महिलालाई विवाह गर्ने परमेश्वरको व्यवस्था मानव समाजकै निम्ति एक उत्कृष्ट व्यवस्था हो। विवाह संबन्धमा ग्रीक दार्शनिकहरूका फरक अवधारणाहरू थिए। ग्रीक दार्शनिकहरू लाइकरगस, थेले, एन्टिफानस, सुकरातले महिलाहरूको डोर्‍याउन नसकिने स्वभावका कारण जीवन कष्टपूर्ण हुनुको साथै नानीहरूको शिक्षामा चुनौति हुने भएकोले विवाह नगर्नु उचित भनी सिकाएका थिए। त्यसको प्रभाव ग्रीक समाजमा परेको थियो र मण्डलीहरूलाई पनि असर पारेको थियो। तिनै अवधारणाको असर कोरिन्थमा भएको मण्डलीमा देखिन्छ। तर यहूदीहरूले सबै स्थानहरूमा विवाहको पक्षमा शिक्षा दिन्थे। ख्रीष्टियनहरूले विवाहलाई आदरणीय मान्दछन्। लेखिएको छ, विवाह सबैको विचमा आदरको योग्य मानियोस् (हिब्रू १३:४)। सामान्यत: मानिस विवाह बन्धनमा जाने प्रकृतिका हुन्छन्। तेसो नभए मानिस व्यभिचारी गतिविधिमा अनियन्त्रित हुन सक्दछन्। येशू ख्रीष्टका प्रभावशाली प्रचारक पावलले ग्रीक शहर कोरिन्थमा रहेको मण्डलीले सोधेको प्रश्नको जवाफमा लेखेका थिए, ‘कसैले आफूलाई वशमा राख्न सक्दैनन् भने उनले विवाह गरून्। किनकि जल्नु भन्दा विवाह गर्नु असल हो। व्यभिचार हुन नदिन हरेक पुरुषकी आफ्नै पत्नी होस्। पतिले आफ्नी पत्‍नीलाई कोमलता देओस्, त्यसरी नै पत्नीले पनि पतिलाई देओस्। पत्नीको आफ्नो शरीरमाथि अधिकार छैन, तर पतिको हुन्छ। त्यसरी नै पतिको पनि आफ्नो शरीरमाथि अधिकार छैन तर पत्नीको हुन्छ। यसर्थ पति-पत्नी एक अर्कादेखि अलग रहेर जिउनुहुँदैन (१ कोरिन्थी ७:१-५)। बाइबलको पुस्तक उत्पत्ति शुरुआतहरूको पुस्तक हो। यस पुस्तकको उत्पत्ति दुई अध्यायमा विवाह सम्बन्धमा महत्वपूर्ण तथ्यहरू उल्लेख भएका छन् (उत्पत्ति २:१८-२५)। विवाहका संस्थापक परमेश्वर हुनुहुन्छ। “अनि परमप्रभु परमेश्वरले भन्नुभयो, आदम एक्लो रहनु असल होइन; तिनका निम्ति म तिनीसंग मेल खाने एउटा सहयोगी बनाउनेछु।” विवाह एक सार्वजनिक कार्यक्रम हो। “अनि परमप्रभु परमेश्वरले जुनचाहिँ करङलाई आदमबाट निकाल्नुभएको थियो, त्यसलाई एउटा स्त्री बनाउनुभयो र उसलाई आदमकहाँ ल्याउनुभयो।” विवाह करारद्वारा सम्पन्न हुन्छ। “अनि आदमले भने, यो ता मेरा हाडहरूको हाड र मेरो मासुको मासु हो; ऊ ‘नारी’ भनिनेछ, किनभने ऊ नरबाट निकालिएको हो।”  “किनभने परमप्रभु तिमी र तिम्रो जवानीकी पत्नीको वीचमा साक्षी हुनुभएको छ; जुन पत्नीसित तिमीले विश्वासघात गरेका छौः तर ऊ ता तिम्री जीवन साथी र तिम्रो वाचाकी पत्नी हो।” “…तर ऊ ता तिम्री जीवन साथी…. हो।” (मलाकी २:१४)। विवाहबन्धन जीवनभरका निम्ति हुन्। पति-पत्नी जीवन साथी हुन्।

उत्पत्ति दुई अध्यायमा विवाहका प्रकृतिहरू पनि उल्लेख भएका छन्। “यसैकारण मानिसले आफ्ना बाबुलाई र आफ्नी आमालाई छोड्नेछ र आफ्नी पत्नीसँग टाँसिनेछ; र तिनीहरू एउटै शरीर हुनेछन्” (उत्पत्ति २:२४; मत्ती १९:६; मर्कूस १०:७; एफिसी ५:३१; १ कोरिन्थी ७:५,३९; भजन संग्रह ४५:१०)। अब पति-पत्नी एक साथ रहनलाई अघि बढ्दछ। “यही प्रकारले हे पतिहरूहो, पत्नीलाई कमजोर पात्र सम्झी, साथै जीवनका अनुग्रहका साझा हकदारहरू सम्झी उनीहरुलाई आदर गर्दै बुद्धिमानीसाथ उनीहरूसंग बस” (१ पत्रुस ३:७; आमोस ३:३)। “तिनीहरू लोटे भने एउटाले आफ्नो साथीलाई उठाउँछ” (उपदेशक ४:९-११)। “यही प्रकारले हे पतिहरूहो, पत्नीलाई कमजोर पात्र सम्झी, साथै जीवनका अनुग्रहका साझा हकदारहरू सम्झी उनीहरुलाई आदर गर्दै बुद्धिमानीसाथ उनीहरूसंग बस र तिमीहरूका  प्रार्थनाहरू नरोकिएको होऊन्” (१ पत्रुस ३:७)।

विवाहका महत्वपूर्ण उद्देश्यहरू रहेका छन्। विवाहद्वारा पहिला त साथी प्राप्त हुन्छ, “मानिस एक्लो रहनु असल छैन।” मानिस सामाजिक स्वभावमा सृजिएको छ। एक्लै रहन उसलाई कठिन हुन्छ। मानिसको यस आवश्यकता पूरा गर्न विवाहको स्थापना गरिएको हो। पत्नी पतिको जीवन साथी हो (मलाकी २:१४)। विवाहले एक पुरुषमा अनि महिलामा पूर्णता दिलाउदछ। मानिस एक्लो रहनु असल होइन तिनका निम्ति तिनीसंग मेल खाने एउटा सहयोगी बनाउनेछु। विवाहद्वारा सन्ततिको निरन्तरता दिलाउदछ। मानव सन्ततिको निरन्तरताको निम्ति विवाह परमेश्वरबाट ठहर्‍याइएको एक योजना हो। “फल्दैफुल्दै र वृद्धि हुँदै जाओ अनि पृथ्वीलाई भरिदेओ!” (उत्पत्ति १:२८)।

विवाहका शिद्धान्तहरू रहेका छन्। विवाहले एक नयाँ स्वतन्त्र परिवारको माग गर्दछ। यसले विवाहको दोस्रो शिद्धान्तको निम्ति प्रशस्त आधार तयार पार्दछ। पुरानो परिवारबाटको अलगपनताको अभावले आज पारपाचुकीहरू भइरहेको देखिएको छ। स्वतन्त्र परिवारमा नै एक पुरुषले आफ्नो नेतृत्वको अभ्यास गर्ने अवसर प्राप्त गर्दछ भने पत्नीले एक सफल गृहिणीको अभ्यास गर्ने अवसर प्राप्त गर्दछ। एक स्वतन्त्र परिवारको निम्ति पतिले आफ्ना बुबाआमाबाट अलग रहेर आफ्नी पत्नीसंग टाँसिनेछ र एउटै शरीर हुनेछ भनि लेखिएको छ (उत्पत्ति २:२४)। “यसैकारण तिनीहरू अब उसो दुई होइनन् तर एउटै शरीर हुन् यसकारण जसलाई परमेश्वरले एकसाथ जोड्नुभएको छ, त्यसलाई मानिसले अलग नपारोस्” (मत्ती १९:६)।

विवाह अघिका भूमिकाहरू के के हुन्?

        मगनी अघि विवाह उम्मेदवार पुरुष र महिला विच विवाह हुनु परमेश्वरको इच्छा हो वा होइन सो कुरा स्पष्ट हुन, विवाहको निर्णय संबन्धमा नीजहरूको प्रार्थना र परमेश्वरको अगुवाई संबन्धमा संबन्धित अविभावकहरू तथा मण्डली अगुवाहरूद्वारा साक्षी सुन्न तथा सोधपुछ गर्न सोधनी कार्य गरिएको हुन्छ (उत्पत्ति २४:३३-५२)। यस कार्यक्रमलाई सोधनी कार्यक्रम भनिन्छ। परमेश्वरको इच्छा हो भन्ने कुरामा सम्बन्धित परिवारजन, अगुवाजनहरू स्पष्ट भएपछि मगनीद्वारा सार्वजनिक रूपमा विवाह हुने घोषणा गर्नलाई मगनी कार्यक्रम गरिन्छ जसमा विवाह उम्मेदवार पुरुष तथा अर्का विवाह उम्मेदवार महिलाले सार्वजनिक रूपमा यी कुराहरूमा स्वीकारोक्ति अभिव्यक्त गर्दछ। १ कोरिन्थी ११:२-३ बमोजिम मगनीमा उम्मेदवार पुरुष र महिला विच पवित्र विवाह बन्धनमा बाँधिने कार्यमा परमेश्वरको इच्छा र अगुवाई खोजिएको, दुवै उम्मेदवार पुरुष र महिला विच साँचो प्रेम रहेको, विवाह नहुँदासम्म ती दुई उम्मेदवार पुरुष र महिलाविच सबै अवस्थाहरूमा सिधापना कायम रहने र एक दिन परमेश्वरको समयमा एकार्कासंग विवाह गरिने स्वीकारोक्ति हुनुपर्दछ। यस उद्धोषपछि मगनीको अनि प्रेमको चिन्ह स्वरूप उपहार लिने, दिने कार्य गर्न सकिनेछ (उत्पत्ति २४:५३-५४)। मगनी कार्य साँचो प्रेममा मात्र गरिएको हुन्छ। याकूवले राहेललाई ज्यादै प्रेम गरे। उनको प्रेम यति ठूलो थियो कि उनी राहेलको प्राप्तिका निम्ति राहेलका बुबाका निम्ति सात वर्ष सेवा गर्न तत्पर थिए (उत्पत्ति २९:१८)। याकूवको प्रतिवद्धता बमोजिम उनले राहेलाका बुबाको निम्ति सात वर्ष सेवा गरेका थिए (उत्पत्ति २९:२१)। यद्यपि राहेलका बुबा लाबानले याकूवलाई धोका दिएका थिए, उनले अर्को सात वर्ष शशूरा बाको थप सेवा गर्ने शर्तवापत एक हप्तापछि राहेललाई प्राप्त गरेका थिए। यसरी याकूवले राहेललाई प्राप्त गर्न चौध वर्ष शशूरा बाको सेवा गरेका थिए। राहेललाई प्राप्त गरेपछि याकूव राहेलसंगै बसे। याकूव र राहेलको प्रेमकथालाई इस्रायलमा महत्वका साथ हेर्ने गरिएको पाइन्छ। तर प्रियसी राहेलको चाँडै नै मृत्युभएपछि उनको चिहानमा एक खाँवो स्मारकको रूपमा खडा गरिएको थियो जसलाई याकूव र राहेलको प्रेम कथाको द्योतकको रूपमा चिनिन्छ (उत्पत्ति ३५:२०)। परमेश्वरका जनहरूका विचमा मगनी पछि मात्र विवाह हुन सक्दछ। मगनी पछि विवाह गर्ने अधिकार पुरुष तथा महिलालाई हुन्छ। मगनी गरिएका पुरुष तसर्थ युद्धमा नजाओस् ताकि उसले विवाह गर्नलाई केही कुराले व्यवधान नगरोस् (व्यवस्था २०:७)। मगनी विना गरिएको सहवासले कन्याको मानमर्यदामा आँच ल्याउनेथियो। साथै त्यसले कन्याको अविभावकको पनि मानमर्यदा होच्याउने कार्य गर्दथ्यो (व्यवस्था २२:२९)। तसर्थ कन्याले आफ्नो मानमर्यदालाई घटौति गर्ने कार्य गर्नुहुँदैन। मगनी पछि मात्र विवाह हुनुपर्दछ। यस प्रकृयाले कन्या, कन्याको अविभावक, मण्डली सबैको मानमर्यदा कायम हुँदछ। यसैमा पुरुषको पनि मानमर्यदा वृद्धि हुँदछ। कन्या मरियमको मगनी युसुफसंग भएको थियो तर ती दुईसंगै बस्दैनथे। मगनीले विवाह उम्मेदवारहरूलाई एकसाथ बस्ने अनुमति दिंदैनथ्यो। एक साथ बस्ने अनुमति केवल विवाहले मात्र दिंदछ। युसुफलाई आफ्ना मगनी गरिएको कन्यालाई विवाह गरी ल्याउन आज्ञा गरिएको थियो। यसैले मगनीले विवाहको निम्ति औपचारिक रूपमा पक्का गर्ने कार्य गर्दछ।
प्रभुमा रहेका अर्थात् मुक्ति पाएर बप्तिस्मा लिएका, पापका कारण मण्डली अनुशासनमा नराखिएका तथा प्रभुका साथ साथ हिंडिरहेका एक पुरुष र एक महिला वचिमा मगनी तथा विवाह दिइन्छ।  सोधनी अघिका चरणहरू विवाह उम्मेदवार केटा र केटी, दुवै पक्षका अविभावक र दुवै पक्षका अगुवाहरूमा विषयलाई सिमित राखिन्छन्। सोधनी पछि मगनी मिति तोकिए पछि भने मगनीलाई सार्वजनिक बनाइन्छ। मगनी जोडीले मगनी भएपछि दुई मध्ये दुवैलाई वा कुनै एकलाई असामन्य अवस्था खडा भएमा वा अंगभंग भएमा पनि एकले अर्कोलाई विवाह गर्न अस्वीकार गर्न पाइनेछैन। मगनीका दिनमा विवाह मिति तोक्न सकिन्छ।

यसर्थ, मगनी प्रार्थना र परमेश्वरबाटको निश्चयता पछि हुन्छ। मगनी साँचो प्रेममा गरिएको हुन्छ। मगनीले विवाहको निम्ति प्रतिबद्धता जाहेर गर्दछ। मगनी विवाह अघि गरिने सार्वजनिक स्वीकारोक्ति हो जसले विवाहको निम्ति मार्ग प्रशस्त गर्दछ। मगनीले हक तथा नाता कायम राख्दछ। मगनी गर्नेले विवाह गर्ने अवसर पाउनुपर्दछ। विवाह जीवनकै महत्वपूर्ण जग र अवसर भएकोले यसको पवित्रतामा सबै युवाहरूले ध्यान दिनुपर्दछ।

Leave a Reply