इजकिएल २३:१-२१ ले के भन्न खोजिएको हो? खास गरी ३,८,१७,२०,२१ पदहरू समावेश गर्न नहुने जस्तो मलाई लागछ। के यी पदहरूलाई बाइबलबाट हटाउँन सकिदैँन? फेरि हटाउँदा प्रकाश २२:१८ को परमेश्वरको चेतावनी सोझै उल्लंघन हुन जान्छ। के बाइबल जस्तो पवित्रशास्त्रमा यस्ता वाक्यहरू उल्लेख गर्नु उचित थियो? कृपया प्रष्ट पारिदिनुहुन्छ कि?

‘अज्ञात’, काठमाडौं

एनोन – यहाँको इमान्दारितालाई परमेश्वरले आशिष दिऊन्। इजकिएल २३:१-२१ यसो हेर्दा फोहोर विवरणझैं लाग्छ। तर यो भाग इस्राएल र यहूदाको फोहोरी हृदय देखाउने परमेश्वरको पवित्र वचन हो। पवित्र आत्मा पापको विषयमा कायल पार्ने काम गर्नुहुन्छ (यूहन्ना १६:८)। इजकिएल २३:१-२१ इस्राएल र यहूदाको वास्तविक इतिहासको सुन्दर विवरण हो।

इस्राएल र यहूदा राज्य

ओहोला र ओहोलिवाको यस दृष्टान्तमा ओहोला इस्राएल (१० कुल) को राजधानी सामरिया हो र ओहोलिया (२ कुल) को राजधानी यरूशलेम हो (२३:१)। राजा सुलेमानको शेष पछि सिङ्गो देश खण्डमा विभक्त भए। १) उत्तरी खण्ड: जसलाई इस्राएल नामले चिनियो जसको राजधानी सामरिया थियो। यस खण्डमा १० कुलका भूभागहरू थिए। २) दक्षिणी खण्डः जसलाई यहूदा नामले चिनियो जसको राजधानी यरूशलेम थियो। तर पहिला यी दुई राज्यहरू एउटै सिङ्गो देश इस्राएलको रूपमा थियो। यसलाई २३:२ मा ‘एउटै आमाका दुई छोरीहरू’ भनि बताइएको छ। ती दुई देश अथवा बाह्र कुल इस्राएलको प्रारम्भिक बृद्धि मिश्रमा भयो। त्यस समयलाई २३:३ मा तिनीहरूलाई तरूणी अवस्था भनिएको छ। तिनीहरूको तरूणी अवस्थालाई मिश्रमा अशुद्ध पारिए (२३:३) अर्थात तिनीहरू पवित्रतामा नरहेर मिश्रका मुर्ति पूजाहरूमा अपवित्र बने। मिश्री दुष्टतामा मुछिए। ओहोला अश्शूरसित मोहित  भई (२३:५) र त्यसलाई अश्शुरको हातमा सुम्पिए। ओहोला अर्थात् सामरिया अश्शुरीहरूका मूर्तिपूजामा अशूद्ध भए (२३:७)। ज्यादै भ्रष्ट बने। त्यसैले परमेश्वरले उत्तरी खण्ड इस्राएललाई अश्शुरीहरूद्वारा नाश गर्नुभयो। तिनी अश्शूरीहरूद्वारा बन्दी बनाइए (२ राजा १७:१-६)।

ओहोलिवा अर्थात् यरूशलेम वेवीलोनी मूर्तिपूजा र अधर्महरूमा भ्रष्ट भए, वेविलोनसँग मित्रता राखे (२३:१५)। सामरियालेझैं यरूशलेमले हत्या गरे (२३:३७)। मूर्तिपूजाहरूमा छोराहरुको भोग चढाए (२३:३७)। यस घोर अपराधहरूका कारण परमेश्वरले वेविलोनी राजा नबुकदनेसरलाई उठाउनुभयो र यरूशलेमलाई घेरा हाल्न (२३:२४) र त्यसका अनमोल कुराहरू लुटि लैजान (२३:२६) अनुमति दिनुभयो (२ इतिहास ३६:१७-२०)। तसर्थ ओहोला र ओहोलिवाको कथा सामरिया र यहूदाको ऐतिहासिक विवरण हो। यो हाम्रै चेतावनीका निम्ति लेखिएको हो (१ कोरिन्थी १०:११)। “सबै पवित्रशास्त्र परमेश्वरको प्रेरणाद्वारा दिइएको हो, अनि शिक्षाका निम्ति, भूलदोष देखाउनका निम्ति, सुधारका निम्ति, धार्मिकताको सम्बन्धमा तालिमका निम्ति लाभदायक हुन्छ (२ तिमोथी ३:१६)। इजकिएल २३:१-२१ परमेश्वरको प्रेरणाद्वारा दिइएको हो।

Leave a Reply