जीवनको गोरेटोमा
मेरो जन्म २०५२ माघ १४ गतेका दिन ललितपुर स्थित पाटन अस्पतालमा भएको थियो। सानै देखि मनलागेको कुरा नपाए मन दुखाएर बस्ने, बाहिर प्रकट गर्न नखोज्ने प्रवृत्तिको थिएँ। झगडा गर्न र रिसाउन पछि पर्दिन थिए। रिसाउने त बानी नै भईसकेको थियो। मेरो जीवनमा सानै देखि नै केही अवस्मरणीय घटनाहरू घट्न पुगे, जस मध्ये एक थियो, बाइक दुर्घटना। बाईकमा स्कुल जाँदै गर्दा बाटोमा दुर्घटना हुन पुग्यो। दुर्घटनामा मेरो अनुहार बाटोमा घिस्रेर रक्ताम्मे भएको थियो। त्यति बेला राम्रोसंग होशमा थिईन। बेलाबेलामा होश हराउँथ्यो। मेरो कम्जोरीमा परमेश्वरको अनुग्रह ममाथि भएकोले उपचारपछि म घर फर्कन सकें। मैले सानै देखि परमेश्वरको ज्ञान हाँसिल गर्ने मौका पाएको थिएँ। तर मैले त्यो ज्ञानलाई हल्का रुपमा लिएको थिएँ। मैले त्यो ज्ञान लिएर आफ्नो जीवनमा उतार्दिन थिएँ। प्रवचनमा मन लगाउँदिन थिएँ। सुने पनि एउटा कानबाट सुनेर अर्को कानबाट उडाउने गर्थें। तर कुनै कुनै प्रवचन ह्रदयस्पर्शी हुन्थ्यो र म धेरै समयसम्म पनि मनमा लिइरहन्थें। तर मेरो सांसारिक मनले आत्मिक मनलाई जित्दथ्यो र म फेरि पुरानै बाटोमा लाग्दथें।
