• Post category:जीवनी
  • Post last modified:माघ २३, २०८१
  • Reading time:5 mins read

               पक्कै पनि हरेक व्यक्तिले बताउनु पर्ने त्यहाँ केहि न केहि कुरा हुन्छ। त्यस्तै गरी, मेरो जीवनमा सबैभन्दा आनन्दित लाग्ने कुरा भनेको मुक्तिको गवाही बताउनु हो। मेरो नाम रोजिना पुरी हो। मेरो जन्म खोटेहाङ गाउँपालिका-८, सिम्पानी, खोटाङमा एक सामान्य हिन्दू परिवारमा भएको हो। मेरो एक दिदी, एक दाइ र भाइ हुनुहुन्छ।

              म सात वर्षको हुँदा काठमाडौं आएको थिएँ। म काठमाडौं आएको केही समयमा नै बुवा-आमासंग एउटा चर्च जान थालें। म बाल संगतिमा बस्न थालें। मलाई शनिवार चर्च जान मन लाग्थ्यो। सानो नयाँ करारको बाइबल हातमा बोकेर लगातार म बाल-संगति जान्थें। बाल-संगतिमा बाइबलका कथा चित्रहरूको प्रयोग गरि सिकाउनुहुन्थो, भजन सिकाउने, पद कण्ठ गर्न दिनु हुन्थो र ख्रीष्टमसमा उपहार दिने गर्नुहुन्थो। म आफूलाई असल छु, कुनै पाप गरेको छैन जस्तो लाग्थ्यो। जब चर्च अर्कै ठाउँमा सर्‍यो, जान टाढा भयो र मेरो ममीलाई शरीरमा समस्या भयो तब हामी त्यहाँ जान छोडयौं। मेरो ठूली ममीको परिवार सुरु देखि नै सहि बाइबलीय शिक्षा भएको मण्डलीमा जाने गर्नुहुन्थो। हामीहरूले पनि त्यहाँ जाने निर्णय लियौं।                                          

               हामी परिवार नै त्यस बप्तिस्ट मण्डलीमा जान थाल्यौं। त्यहाँका मानिसहरू नम्र, प्रेमिलो र सहयोगी भावको हुनुहुन्थो। पहिले जाने चर्च भन्दा यस चर्चमा मैले धेरै भिन्नता देखेर म अचम्भित हुने गर्थें। अनि किशोरहरू (Teenager) को बाल संगति भर्खर शुरु भएको रहेछ र मेरो उमेर १२ वर्ष पुगेको थियो। मलाई पनि त्यस कक्षामा बस्न र  सिक्ने अवसर दिनु भयो। म निरन्तर कक्षामा बसेर भजनहरू, बाजाहरू र बाइबलबाट विभिन्न सत्यता सिक्न थालें। म आफूलाई स्कुलमा ख्रीष्टियन हुँ भन्थेँ। मलाई थाहा थियो, ख्रीष्टियनहरूले टिका लगाउनु हुँदैन। त्यही भएर मैले स्कुलमा पूजा हुँदा या कुनै प्रतियोगितामा पुरुस्कार पाउँदा लगाउँदिन थिएँ। म आफूलाई साथीहरू माझ उनीहरूभन्दा राम्रो प्रस्तुत हुन प्रयास गर्थें । ‘झूट बोल्नु’, ‘चोर्नु’, ‘झगडा गर्नु’, ‘लोभ गर्नु’ जस्ता कार्यहरू नराम्रा कामहरू हुन् भन्ने कुरा जानेको थिएँ, तर पाप हो भनेर थाहा थिएन। मलाई जे गर्न मन लाग्थ्यो त्यहि गर्थैं। बास्केटबल खेलाडि बन्नु मैले मेरो जीवनको लक्ष्य बनाएकी थिएँ। चर्चमा मैले बाइबलका सत्यता जान्ने अवसर पाएकी थिएँ। म शनिवार चर्च जान्थें, मण्डलीमा बाइबलबाट धेरै सत्यता प्रचार हुन्थ्यो। मैले ती कुराहरूलाई व्यक्तिगत रूपमा ध्यान दिएकी थिइन। केवल दिमागी विश्वास मात्र गर्थें, मेरो जीवन साँचो रुपमा पर्रिवर्तन भएको थिएन। तर मलाई सम्झना छ, एक रात म सुत्न सकिरहेको थिइन। मनमा विभिन्न कुरा आउन थाले र मनभित्र डर र अशान्ति भयो। मैले मेरो जीवन सम्बन्धमा गम्भीर भएर सोंच्न थालेँ। ‘म को हुँ?’ ‘मलाई कसले बनायो?’ ‘म किन यहाँ छु?’ ‘म किन विकसित देशमा नजन्मेको?’ ‘म मरें भनें कहाँ जान्छु’? पवित्र आत्माले ममा पाप, धार्मिकता र न्यायको विषयमा कायल पार्न थाल्नु भयो। मैले विगतमा गरेका पापहरू सम्झना गरें, रोमी ३ को १० पदमा लेखिएको छः ‘धर्मी कोही छैन, एउटै पनि छैन।’ रोमी ३ को २३ मा लेखिएको छ, ‘किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमारहित हुन गएका छन्। ‘म पनि एक पापी हुँ। मैले परमेश्वरको महिमारहित जीवन विताइरहेको रहेछु। बाइबलले त पापको ज्याला मृत्यु हो भनेको छ र ख्रीष्टलाई विश्वास नगर्ने अनन्त नरकमा पर्नुपर्छ (प्रकाश २१:८)। तर युहन्ना ३ को १६ मा लेखिएको छ, ‘किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एक मात्र जन्माइएको पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस्।’ मलाई परमेश्वरले प्रेम गर्नुहुन्छ, त्यसकारण परमेश्वरले एक मात्र जन्माइएको पुत्रलाई दिनुभयो, ख्रीष्ट येशूमा विश्वास गर्नेले मुक्ति पाउँदछ। परमेश्वरसंग प्रार्थनामा पापहरूको स्वीकार गरें, पश्चात्ताप गरें। मैले पाप गरेकी छु अनि म पापमै मरें भने नरकमा सदा पीडामा रहिरहनुपर्छ भन्ने ठहर गर्दै मैले येशू ख्रीष्टमा विश्वास गरें। उहाँले मात्र मेरा सब पापहरू क्षमा गर्न सक्नुहुन्छ। उहाँले कुनै पाप गर्नुभएन, मलाई सबै पापहरूबाट छुटकारा दिन, अनन्त जीवन दिन, परमेश्वर मानिस बन्नुभयो, दु;ख भोग्नुभयो, आफ्नो बहुमूल्य रगत बहाउनुभयो, क्रूसमा हात-पाउमा काँटी ठोकिएर टांगिनुभयो, मर्नुभयो र फेरि तेस्रो दिनमा मृत्युबाट बौरिउठ्नुभयो। उहाँले मात्र मलाई अनन्त मृत्युबाट बचाउन सक्नुहुन्छ भनेर विश्वास गरें। येशू ख्रीष्टले म जस्तो पापीको निम्ति यति धेरै दुःख भोग्नुभयो, यो जीवन परमेश्वरको हातमा छ, म आफ्नै इच्छामा जिउनु हुँदैन। उहाँको महिमाको निम्ति, उहाँलाई मन पर्ने जीवन जिउनुपर्छ। मैले आफ्नो जीवन उहाँको इच्छा अनुसार, उहाँले देखाउनुभएका मर्गमा हिडने अठोट गरे, आफ्नो जीवन उहाँलाई सुम्पें। उहाँले कुनै पाप गर्नुभएन, मलाई प्रेम गर्नुभयो, आफ्नो एक मात्र जन्माइएको पुत्र दिनुभयो। अरु ईश्वर भनिएकाहरू सत्य होइन रहेछ। मैले गरेका असल कामहरूले, धर्म-कर्म, पैसाले अनन्त जीवन, मुक्ति नमिल्ने रहेछ। यूहन्ना १४:६ अनुसार, येशू ख्रीष्ट मात्र सत्य, एक मात्र बाटो र जीवन हुनुहुन्छ, उहाँमाथि विश्वास गरेर मात्र स्वर्ग पुग्न सकिन्छ भन्ने कुराको मैले स्वीकार गरेँ। त्यस रात मेरा सबै डर हट्यो, म मरें भने स्वर्गमा हुनेछु भन्ने पूरा निश्चयता मलाई भयो, हृदयबाट सबै चिन्ता हटाई दिनु भयो र शान्ति दिनुभयो, उहाँ मसंग हुनुभएको महसुस गरें, उहाँसंग मेरो व्यक्तिगत नयाँ सम्बन्ध भयो। त्यस रात येशू ख्रीष्टलाई मेरो व्यक्तिगत प्रभु र मुक्तिदाताको रुपमा ग्रहण गरें साथै धन्यवाद दिएँ। मैले मुक्ति पाएको छु, यस कुरामा म निश्चित छु (एफेसी २:८)। मेरो मृत्यु भयो भने कुनै शंका छैन, निश्चय नै स्वर्गमा, परमेश्वर पितासंग सधैंका निम्ति हुनेछु।

           जब मैले मुक्ति पाएँ त्यसपछि मेरो जीवन विस्तारै परिवर्तन हुन थाल्यो। मेरो सोंच, विचारहरू, कार्यहरू, उदेश्य फरक हुन थाल्यो। बाइबल बुझ्ने तृष्णा बढ्दै गयो, हरेक शनिबार र बुधबार म चर्च जान्थें। परमेश्वरसंग नजिकमा रहन थालें। २०७३-०२-०८ गते बप्तिस्मा लिएँ। मण्डलीको सेवाकाईहरूमा सहभागी हुन थालें। परमेश्वरले मेरो जीवनमा परीक्षाहरूमा सहायता गर्नुभयो। संसारिक साथी-संगतहरू देखि टाढा रहन सहायता गर्नुभयो र आशिष दिनुभयो। आजको दिनसम्म अनुग्रह र अगुवाइ गर्नुभएको छ। परमेश्वरकै इच्छामा २०७८ सालमा क्राउन नेपाल बाइबल कलेज पढने अवसर पाएँ र अहिले चौंथो वर्षमा बाइबल अध्ययन गरिरहेकी छु। मलाई मन पर्ने र उत्साह दिने बाइबल पद यूहन्ना १५:५ हो जहाँ परमेश्वरसंग विश्वासीको सम्बन्ध सधैं बलियो हुनुपर्दछ, उहाँमा रहिरहने र फल फलाइ रहनुपर्ने कुरा उल्लेख छ। आज तपाई र मलाई बनाउनुहुने एक मात्र परमेश्वर हुनुहुन्छ, हाम्रो जीवनमा उहाँको उद्धेश्य भनेको उहाँलाई चिन्नु, मुक्ति पाउनु र उहाँको महिमाको निम्ति जीवन जिउनु हो।

धन्यवाद।

Leave a Reply