• Post category:लेख
  • Post last modified:कार्तिक २९, २०८१
  • Reading time:2 mins read

            प्रेरित ६ र ७ अध्यायमा स्टिफनसको शहिद हुँदै गर्दाको विवरण पाउदछौँ। “स्टिफनस” नामको अर्थ “मुकुट”  (ग्रीकमाः स्टेफानोस ) हो। यस नामले विजेताको मुकुटलाई जनाउँछ। स्टिफनसको जीवनलाई प्रकाश २:१० मा संक्षेप गर्न सकिन्छ,  मृत्युसम्‍म विश्‍वासीयोग्य रह, र म तिमीलाई जीवनको मुकुट (स्टेफानोस ) दिनेछु।” स्टिफनस पहिलो ख्रीष्टियन शहिद थिए। स्टिफनस सुसमाचारका शत्रुहरूद्वारा मारिएका पहिलो ख्रीष्टियन थिए। जब हामी चर्चको इतिहासलाई हेर्छौं, सुसमाचारका शुरुका विरोधीहरू अविश्वासी यहूदीहरू थिए सुसमाचारका दोस्रो प्रमुख विरोधीहरू रोमी शासकहरू थिए।

प्रेरितहरूले येशू ख्रीष्टको बारेमा सिकाउन र प्रचार गर्न छोडेनन् (प्रेरित ५:४२)। परमेश्वरले सुसमाचारमा विश्वास गर्ने सबैलाई बचाउने कार्य गर्नुभयो। अनि मण्डली संख्यामा बृद्धि भइरहेको थियो। चेलाहरूको संख्या बढ्दै गइरहेको थियो (प्रेरित ६:१)। यरूशलेम मण्डलीमा ग्रीक भाषी यहूदीहरू र हिब्रू यहूदीहरू थिए। विधवाहरूको  बेवास्ता भएको भन्दै ग्रीक यहूदीहरूले गनगन गरेका थिए। प्रेरितहरूले यो समस्या बुझी विधवाहरूको हेरचाह गर्न सातजना डिकनहरू छानेका थिए। ती सातमध्ये स्टिफनस एक थियो। उनको संबन्धमा “विश्वास र पवित्र आत्माले भरपूर भएका मानिस” भनेर वर्णन गरिएको छ (प्रेरित ६:५)। परमेश्वरले उनमा शक्तिशाली कामहरू र चिन्हहरू गर्नुभयो (प्रेरित ६:८।

स्तिफनससंग सभाघरका यहूदीहरू बादविवाद गर्न आए। तर तिनीहरूले स्टिफनसले बोलेको बुद्धि र आत्माको सामना गर्न सकेनन् (प्रेरित ६:९,१०)। तिनीहरूले स्टिफनसलाई मोशाको विरुद्धमा (व्यवस्थाको विरुद्धमा), परमेश्वर र पवित्रस्थानको विरुद्धमा बोलेको आरोप लगाए। तर मूख्य समस्या यो थियो कि स्टिफनसलाई आरोप लगाउनेहरू परमेश्वरको विरुद्धमा थिए। उनी विरुद्ध बोलिएका झूटा कुराहरूको कारणले गर्दा मानिसहरू उनको विरुद्धमा भड्किए (प्रेरित ६:१२)।

       अन्ततः स्तिफनसलाई यहूदी नेताहरूसामु ल्याइयो। यहूदी नेताहरूले स्तिफनसलाई हेर्दा, तिनीहरूले “उसको चेहरा स्वर्गदूतको चेहराजस्तै देखे” (प्रेरित ६:१५)। महासभा सामु स्टिफनसले परमेश्वरको वचनको इतिहास बताए तर तिनमा उनीहरू संतुष्ट भएनन् र उनी विरुद्ध चिढिए (प्रेरित ७:५४)। स्टिफनसले वरिपरि हेरेन, बरु उसले माथि हेरे  र परमेश्वरको महिमा र येशूलाई परमेश्वरको दाहिने हातमा उभिरहनुभएको देखे (प्रेरित ७:५५)। तिनीहरूले ठूलो सोरले चिच्च्याएर आफ्ना कान थुनेर एकैसाथ उनीमाथि झम्टे। यी क्रोधित मानिसहरूले उनलाई शहरबाट बाहिर फालिदिए र ढुङ्गाले हानी मारे (प्रेरित ७:५७-५९)। स्तिफनस मर्दै गर्दा घुँडा टेकेर चर्को सोरमा कराए, “हे प्रभु, यो पाप तिनीहरूमाथि नलगाउनुहोस्।” यो प्रार्थना पछि उनी सुते (प्रेरित ७:६०)।

स्टिफनस ख्रीष्टको साक्षीका निम्ति मर्ने पहिलो ख्रीष्टियन शहिद थिए। प्रेरित २२:२० मा पावलले स्टिफनसको रगत बहाईमा आफ्नो पनि हात रहेको र त्यो गल्ती भएको स्वीकार गरेका थिए। मानिसले कति सजिलै अज्ञानतामा, अरुहरूको बहकाउमा अपराध गर्दछन्। त्यसको बदला परमेश्वरले लिनुहुन्छ। यहूदीहरूको ती कठोरताको बदलास्वरुप परमेश्वरले रोमीहरूद्वारा सन् ७० मा यरुशलेम पूर्ण रूपमा ध्वस्त पार्नुभएको थियो। त्यस घट्नासंगै यहूदीहरूको मूर्खता र दुष्टताको बद्ला लिइएको थियो। परमेश्वर जीवित हुनुहुन्छ र सबैले उहाँको भय मान्नुपर्दछ।

Leave a Reply