नयाँ मानिस भई हिडौं
पुरानो त्यस दुष्ट मान्छेलाई फाली,
आत्मामा झन् नयाँ हुदैँ सही कदम चाली,
नयाँ मानिस पहिरौं है झूटलाई गरौँ टाढा,
हुँदै जाओस् प्रभुसंगको प्रेम अझै गाढा।
नदिनु है शैतानलाई कुनै पनि ठाउँ,
प्रार्थनासाथ प्रभुसँगै प्रेममा बढ्दै जाओँ,
कुवचन त्यागिकन बोलौं वचन असल,
नयाँ बनौं, तयार बनौं बटुल्नलाई फसल।
हामीमा छ छाप अब, त्यो पवित्र आत्मा,
खुसी पार्ने कि शोकित, छ है हाम्रो हातमा,
तीतोपना, क्रोध, रिस, कलह र निन्दा,
वैरभावसमेत हटाऔं नयाँ भई हिँड्दा।
ख्रीष्टले जस्तै क्षमा गर्न जान्नुपर्छ अब,
बाइबलको हरेक आज्ञा मान्नुपर्छ अब,
प्रभुलाई मन पर्ने कुरा थाहा गरी,
दोहोर्याउनु हुन्न पाप फेरि घरी घरी।
दुष्टका सब अग्निवाणलाई निभाउने चाल,
तरवार आत्माको अनि विश्वासको ढाल,
शैतानको सामना गरौं हृदयलाई जगाई,
धार्मिकताको कवच अनि मुक्तिको टोप
प्रभु ख्रीष्टको स्वरूपमा नयाँ बन्दै जाऔं,
प्रशंसा र प्रभुको प्रेमको सन्देश गाऔं,
फालिकन पुरानोलाई जो छ अति भ्रष्ट,
हाम्रो जीवनमा ख्रीष्ट, देखिनुपर्छ प्रष्ट।
