• Post category:लेख
  • Post last modified:मंसिर ३, २०८१
  • Reading time:3 mins read

पुस्तक श्रेष्ठगीतका प्रमुख पात्रहरू को को हुन् भन्ने सम्बन्धमा फरक फरक अवधारणाहरू पाईन्छन्। एकातर्फ राजा शुलेमान र कन्या शुलामाइट विचको प्रेम विवरणको रुपमा व्याख्या गरिएको छ। अर्को तर्फ शुलामाइट र एक गोठाला युवक विचको प्रेम गाथाको रुपमा व्याख्या गरिएको छ। यसर्थ पुस्तकका वास्तविक प्रेमी सम्बन्धमा दुई किसिमका अवधारणाहरू रहेका छन्। एउटा व्याख्या यो थियो कि प्रेमिका शुलामाइट थिई (श्रेष्ठगीत ६:१३) जसको सुन्दरतामा राजा शुलेमान अत्यन्तै मोहित भएका थिए। उनलाई आफ्नो बनाउन राजा शुलेमानले आफ्नो दरवारमा ल्याए, सबै सुख सुविधायुक्त तुल्याए। शुलेमानप्रति कन्या पनि अत्यन्तै मोहित भएका थिए।

तर अर्को व्याख्या अनुसार कन्या शुलामाइटको एक गोठाला युवकसंग प्रेम बसेको थियो। तर उक्त कन्यालाई राजा शुलेमानले देखे र मन पराए (श्रेष्ठगीत ६:१०-१३)। अनि उनलाई यरुशलेम ल्याइए जहाँ उनलाई दरबारका स्त्रीहरूले घेरे (श्रेष्ठगीत १:५)। ती स्त्रीहरूद्वारा राजाले शुलामाइटको मन जित्ने प्रयास गरे। शुलामाइटको वास्तविक प्रेमी फरक थियो जसको चरित्र शुलेमानको भन्दा भिन्न थियो। उनी पहाडहरूमा बस्थे, डाँडाहरूमा जिउँथे जो अत्यन्तै बलिया र छिटा थिए। उनी प्रकृतिको सुन्दरतामा रमाउँथे जसले आफ्ना भेडाहरू लिली फूलहरूका   विचमा   चराउँथे   (श्रेष्ठगीत २:७-१७)। कन्यालाई दरवारमा ल्याइए पनि समस्या त यो थियो कि उनले आफ्ना प्रेमीलाई कहिल्यै विर्सन सकिनन्। उनले आफ्ना प्रेमी आफ्ना भेडाहरूलाई लिएर कहाँ गइरहेछ, मध्यदिनमा भेडाहरूलाई कहाँ सुताइरहेछ सोको सोधनी गरिरहेकी थिई। उनी आफ्नो तात्कालीन सुख सुविधामा संतुष्ट थिइनन् (श्रेष्ठगीत १:७)। शुलामाइटले आफ्ना प्रियलाई सपनामा पनि देखिरहन्थी (श्रेष्ठगीत ५:२-१६)। शुलामाइटले आफ्नी सपनाका प्रेमीलाई खोज्न यरुशलेमका छोरीहरूलाई आग्रह गरेकी थिई (५:८)। उनीहरूले सोधेका थिए,

“कुन कुरामा तिम्रा प्रिय अरू कुनै प्रियभन्दा बढी छन् र तिमीले हामीलाई यसरी आग्रह गर्दछ्यौ?” (५:९)।

यस खण्डले शुलामाईटका प्रेमी राजा शुलेमान नभई अर्कै व्यक्ति रहेको पुष्टि गर्दछ। अन्तमा ती दुई प्रेमी-प्रेमिका विच पुनर्मिलन भएको थियो (श्रेष्ठगीत ८:४-७। यस खण्डले शुलामाइटको साँचो प्रेमको वर्णन गर्दछ। उनको प्रेमी प्रतिको प्रेमबाट उनको हृदयलाई केही कुराले अलग पार्न नसकेको विवरण प्रस्तुत भएको छ। प्रेमलाई धन वा मानले किन्न सक्दैन।

“प्रेमलाई धेरै पानीहरूले पनि निभाउन सक्दैनन्, न ता बाढहरूले नै त्यसलाई डुबाउन सक्छन्; मानिसले प्रेमका निम्ति आफ्नो घरको सारा संपत्ति दिइहाले तापनि त्यो बिलकुलै तुच्छ ठानिनेछ (श्रेष्ठगीत ८:७)।”

पछिल्लो व्याख्याले नै साँचो प्रेमको सुन्दरता र महत्व दर्शाउँदछ। किनकि राजा शुलेमानका थुप्रै पत्नीहरू थिए जसले एक कन्यालाई प्रेम गर्नुको त्यस्तो खास महत्व राख्दैन। बरू एक गोठाले केटा र शुलोमाइट विचको प्रेमले नै साँचो प्रेमको पवित्रता र महानता दर्शाउँदछ। साँचो प्रेमको विशुद्धता र अटूट प्रेमको विजय नै यस पुस्तकको मूल विषय हो जसलाई संसार र त्यसका उत्तमताहरूले असर पार्न सकेनन्। यसले मण्डली र ख्रीष्ट विचको प्रेमको चित्रण दिएको छ। पावलले कोरिन्थीको मण्डलीलाई ख्रीष्टसंग विवाह गराउन मगनी गराइएको उल्लेख गरिएको छ    (२ कोरिन्थी ११:२,३)। ख्रीष्टसंग विवाह गराइन कोरिन्थीहरूसंग मगनी गराइएका थिए। स्वर्गीय विवाह आउँदै थियो     (मत्ती २५:६; प्रकाश १९:७)। जसरी पहिलो स्त्री धोकामा परेकी थिई त्यसरी नै मण्डलीलाई धोका देला कि भन्ने डर पावललाई थियो।  

झूटा शिक्षकहरू वा संसारका प्रलोभनहरूद्वारा मण्डली हल्लाइएला कि भन्ने डर पावललाई लागेको थियो। संसारका धनदौलत, ऐशआरामका बाबजुद साँचो मण्डलीले आफ्ना प्रेमी प्रभुलाई कहिल्यै विर्सन्नन्। उहाँसंगको प्रेमलाई धेरै पानीहरूले निभाउन सक्दैनन्, न ता बाढहरूले नै त्यसलाई डुबाउन सक्दछन्। संसारले मण्डलीलाई जित्न सारा संपत्ति नै दिएपनि त्यो तुच्छ ठानिनेछ। आफ्ना प्रेमी प्रभुका निम्ति पवित्र जनहरूले अघिका समयहरूमा कुटाई खाए, गिल्ला गरिए, कोर्रा खाए, कैदमा परे, ढुंगाले हानिए, कंगाल भए, भूमिहिन बने, गुफा र ओडारहरू हुँदो घुमिहिँडे, आराले चिरिए, मारिए (हिब्रू ११:३५-३८)। तर ती अन्तसम्म उहाँ प्रतिको प्रेमबाट लडखडाएनन्, पछि हटेनन्। यस साँचो प्रेमको कति सुन्दर विवरण पुस्तक श्रेष्ठगीतमा। 

Leave a Reply