ख्रीष्टमा परिवर्तीत जीवन
पक्कै पनि हरेक व्यक्तिले बताउनु पर्ने त्यहाँ केहि न केहि कुरा हुन्छ। त्यस्तै गरी, मेरो जीवनमा सबैभन्दा आनन्दित लाग्ने कुरा भनेको मुक्तिको गवाही बताउनु हो। मेरो नाम रोजिना पुरी हो। मेरो जन्म खोटेहाङ गाउँपालिका-८, सिम्पानी, खोटाङमा एक सामान्य हिन्दू परिवारमा भएको हो। मेरो एक दिदी, एक दाइ र भाइ हुनुहुन्छ। म सात वर्षको हुँदा काठमाडौं आएको थिएँ। म काठमाडौं आएको केही समयमा नै बुवा-आमासंग एउटा चर्च जान थालें। म बाल संगतिमा बस्न थालें। मलाई शनिवार चर्च जान मन लाग्थ्यो। सानो नयाँ करारको बाइबल हातमा बोकेर लगातार म बाल-संगति जान्थें। बाल-संगतिमा बाइबलका कथा चित्रहरूको प्रयोग गरि सिकाउनुहुन्थो, भजन सिकाउने, पद कण्ठ गर्न दिनु हुन्थो र ख्रीष्टमसमा उपहार दिने गर्नुहुन्थो। म आफूलाई असल छु, कुनै पाप गरेको छैन जस्तो लाग्थ्यो। जब चर्च अर्कै ठाउँमा सर्यो, जान टाढा भयो र मेरो ममीलाई शरीरमा समस्या भयो तब हामी त्यहाँ जान छोडयौं। मेरो ठूली ममीको परिवार सुरु देखि नै सहि बाइबलीय शिक्षा भएको मण्डलीमा जाने गर्नुहुन्थो। हामीहरूले पनि त्यहाँ जाने निर्णय लियौं।
