जीवन एक यात्रा हो। प्रस्थान विन्दु एक हुन्छ भने यात्रा गन्तव्य अर्को हुन्छ। धर्तीको एक छेउबाट प्रारम्भ भएको यात्रा कुनै स्थानमा टुंगिन्छ। त्यसविच अनेक आरोह-अवरोहरू हुन्छन्, अनेक चुनौति र संघर्षहरू हुन्छन्। तर जीवन लक्ष महत्वपूर्ण हुन्छ। सही लक्षले सहि गन्तव्यमा पुर्याउँदछ। लक्षविहिन यात्राले टुंगोमा पुर्याउँदैन। अब्राहामले परमेश्वरको बोलावट पाएपछि आफ्नो देश र आफ्ना घरानालाई छोडि परमेश्वरबाट प्राप्त प्रतिज्ञाको देशलाई गन्तव्य बनाई यात्रा प्रारम्भ गरे। उनी हारानमा बस्नु अघि मेसोपोटामियामै हुँदा अर्थात् मेसोपोटामियाको ऊर शहरमा हुँदा महिमाका परमेश्वर देखापर्नुभई भन्नुभएको थियो, “तिमी आफ्नो देशबाट र आफ्ना साखासन्तानहरूको बीचबाट निस्क र त्यस देशमा आऊ, जुन देश म तिमीलाई देखाउनेछु।” तर उनी केही समय हारानमा अल्झिए। यात्रा गन्तव्य मानिसले कहिले काहिँ भुल्न सक्दछ। विविध परिस्थिति र परिवेशद्वारा मानिस अल्झनमा पर्न सक्दछ। अब्राहाम अल्झनमा परेको देखिन्छ। उनलाई ऊरबाट आफू र आफ्ना पत्नी सारा मात्र निस्कन भनिएको थियो तर साथमा उनका बुबा तेरह र भतिज लूतका साथै बुबा पनि थिए। हारानमा उनका बुबा तेरहको मृत्युपछि प्रतिज्ञाको देशमा जान उनलाई हारानमा पुनः परमेश्वरले भन्नुपरेको थियो, “आफ्नो देश, आफ्नो कुटुम्ब र आफ्ना बुबाको घरबाट निस्केर त्यस देशमा जाऊ, जो म तिमीलाई देखाउनेछु!” त्यहाँबाट उनी प्रतिज्ञाको देशतर्फ त गए तर उनका साथमा भतिज लूत पनि थिए। प्रतिज्ञाको देश कनान आइपुगेपछि परमेश्वरले अब्राहामलाई संक्षिप्त रूपमा भन्नुभयो, “यो देश म तिम्रो वंशलाई दिनेछु।” उनले प्रतिज्ञाको देशमा परमप्रभुका निम्ति एक वेदी बनाए र उहाँलाई धन्यवाद दिए। तर केही समयमै प्रतिज्ञाको देशमा घोर अनिकाल पर्यो। तब अब्राहाम आफ्नी पत्नी सारा र लूतलाई लिई मिस्रमा बसोबास गर्न गए। यो उनको जीवनको एक ठूलो अल्झन थियो। मिस्रमा उनलाई आर्थिक लाभ त भए तर उनले निकै महत्वपूर्ण कुराहरू गुमाए। मिस्र देशका कारण उनले जीवनमा अनेकौं जटिलताहरू पनि व्यहोरेका थिए। अन्ततः उनी प्रतिज्ञाको देश फर्के। लूत र उनी विच संबन्धहरूमा समस्याहरू वृद्धि भए। उनीहरू एकापसमा छुट्टिए। लूतले परमप्रभुको बगैंचा अनि मिस्र जस्तो देखिने सदोम र गमोरालाई रोजे जहाँ उनले नोक्सानी र विनाश भोग्यो। लूत अलग्गिएपछि मात्रै परमेश्वर अब्राहामसंग प्रतिज्ञाको देश संबन्धमा विस्तृत रूपमा बोल्नुभयो र प्रतिज्ञालाई स्पष्ट पार्नुभयो। अब्राहामलाई दिइएको उक्त देशमा आज पनि उनकै सन्तान इस्रायल सामर्थ्यसाथ बसिरहेका छन्। यही प्रतिज्ञाको देशमा नै मसिह आउनुभयो जसद्वारा “तिमीमा पृथ्वीका सबै कुलहरू आशिषित हुनेछन्” भनी अब्राहामसंग गरिएको प्रतिज्ञा पूरा भयो। यसरी अब्राहाम आफ्नो जीवन यात्राको टुंगोमा पुग्न सफल बने जुन हाम्रो जीवन यात्राको निम्ति एक सुन्दर नमूना हो।