आज विश्वभर ख्रीष्टमस चाड ख्रीष्टको जन्मोत्सवको रूपमा परिचित छ। के ख्रीष्टको जन्मदिन यकिन भएको छ? उहाँ कुन दिन जन्मनुभयो? यसबारे के बाइबलले स्पष्ट रूपमा उल्लेख गरेको छ? के ख्रीष्ट र ख्रीष्टमस विचमा कुनै तादात्म्यता छ? के ख्रीष्टले ख्रीष्टमस मनाउनुभयो? के उहाँले आफ्ना चेलाहरूलाई ख्रीष्टमस मनाउन आज्ञा दिनुभएको थियो? यी सबै प्रश्नहरू अनुत्तरित रहेका छन्। उहाँको जन्मदिन यकिन गरिएको छैन। न येशूले ख्रीष्टमस मनाउनुभयो न उहाँले ख्रीष्टमस मनाउन चेलाहरूलाई कुनै आज्ञा वा निर्देशन नै दिनुभयो। बाइबलमा कसैले पनि ख्रीष्टमस मनाएको विवरण छैन।

       ख्रीष्टको जन्म दिन अज्ञात रहेको छ। ख्रीष्टको जन्मको सबैभन्दा विस्तृत विवरण लूका २:१-८ मा दिइएको छ। यहाँ उल्लेख गरिएको छ कि येशूको जन्मको समयमा जनगणना लिने कार्य भइरहेको थियो। लेखिएको छ, “अनि त्यही इलाकामा राती आफ्नो बगालको हेरचाह गर्दै बारीमा बसिरहेका गोठालाहरू थिए।” इस्रायलमा जाडो समयमा झरी पर्ने र जाडो हुने गर्दछ। त्यस्तो समयमा जनगणना गरिनु चुनौतिपूर्ण हुन्छ। जाडो मौसममा गोठालाहरू राती खुला मैदानमा बस्दैनन्। यी विविध कारणहरूले गर्दा येशूको जन्म जाडो मौसममा भएको कुरामा आशंका रहेको छ। मूल कुरा त ख्रीष्टको जन्म डिसेम्वर २५ मा भएको यकिन भएकै छैन। परमेश्वरले येशूको जन्म दिनलाई अज्ञात राख्न चाहानुभयो। मानिसमा स्वाभाविक रूपमा देखिने कुरालाई वा तोकिएको दिनलाई बढवा दिने प्रवृत्तिको रहेको छ। उहाँको जन्म दिन अज्ञात रहँदा त आज त्यति भव्यताका साथ ख्रीष्टमस मनाउँछन् भने दिनै तोकिदा ख्रीष्टको जन्मोत्सव कुन प्रकृतिको हुन्थ्यो होला। मोशाको शवलाई परमेश्वरले अज्ञात स्थानमा दफन गर्नुभयो। तर यसमा शैतानले विवाद गरेका थिए (यहूदा ९)। उनी चाहान्थे कि देखिने स्थानमा दफन हुनुपर्दछ। यदि मोशाको शव देखिने स्थानमा दफन गरिएको भए उक्त स्थानलाई निश्चय तिर्थस्थल वा धार्मिक स्थल बनाई मूर्तिपूजामा परिणत गरिनेथियो।

           रोमन क्याथोलिक चर्चले ख्रीष्टमस पर्व शुरु गरेका थिए। वर्ल्ड बुक इन्साइक्लोपेडिया भोलुम ३, पृष्ठ ४१६ मा लेखिएको छ, इ.सं. ३५४ मा रोमका विशप लिवेरियसले आफ्ना जनतालाई डिसेम्वर २५ मा ख्रीष्टको जन्म मान्नलाई आदेश दिएका थिए। येशू ख्रीष्टको जन्म डिसेम्वर २५ मा भएको थिएन तर यो समय रोमीहरूको चाडहरूको समय थियो। उनीहरू शनि ग्रहका निम्ति सतुर्नालिया चाड डिसेम्वर १७-२३ मा मनाउने गर्दथे। रोमीहरू अपराजित सूर्य देवको जन्मदिनको रूपमा डियस नटालिस सोलिस इन्भिक्टि (Dies Natalis Solis Invicti) चाड डिसेम्वर २५ मा मनाउने गर्दथे। फारसी देवता मिथ्राको जन्मदिनको रूपमा रोमी सिपाहीहरूले डिसेम्वर २५ मा चाड मनाउदथे। उत्तरी गोलार्धको निम्ति सबैभन्दा छोटो दिनपछि दिन लम्विन शुरु हुने पहिलो दिन डिसेम्वर २५ हो।

          येशूले मानवीय रीतिविधिहरूको सन्दर्भमा भन्नुभयो, “यशैयाले तिमी कपटीहरूको विषयमा सठीक भविष्यवाणी गरेका छन्, जस्तो लेखिएको छ; “यस जातिले मलाई आफ्नो ओंठले त आदर गर्दछ, तर यिनीहरूको हृदय मदेखि टाढा छ। तर यिनीहरूले व्यर्थमा मेरो उपासना गर्दछन्, किनकि यिनीहरूले मानिसहरूका आज्ञाहरू धर्म-शिक्षाहरूको रूपमा सिकाउँछन्” (मर्कूस ७:६,७)।

        येशू मानिसहरूका कपट्याईलाई घृणा गर्नुहुन्छ। ओंठले आदर गर्ने, बाहिरी देखावटी गर्ने, तर हृदय चाहिँ टाढा रहने गतिविधिहरूलाई परमेश्वरले घृणा गर्नुहुन्छ। ख्रीष्टमस वा ख्रीष्टको जन्म भनेका छन्, प्रभु प्रभु भनेका छन्, खाएका छन्, पिएका छन्, नाचेका छन्, उफ्रेका छन् तर हृदयमा भक्ति छैन, परमेश्वरको डर छैन। वडा दिन भनेका छन्, चाड मानेका छन् तर हृदय परमेश्वर देखि टाढा रहेका छन्। ख्रीष्टले तात्कालीन समयका धार्मिक अग्रजहरूलाई उनीहरूका यस्तै कपट्याईपूर्ण प्रवृत्ति विरुद्ध कडा हप्काई दिनुभएको थियो। आज पनि उहाँको त्यही भनाई र हप्काई रहेको छ। तसर्थ कपट्याई गर्नुहुँदैन। मानवीय रीतिविधिहरूलाई बढावा दिनुहुँदैन। परमेश्वरलाई आत्मा र सत्यतामा पुज्नुपर्दछ। उहाँको महिमा गर्नुपर्दछ।

       त्यसो त के गरौं? सारा विश्वले यस मौसममा ख्रीष्टमस मनाउँछन्। त्यसको विरोधै गरेर बस्ने? त्यसो पनि नगरौं। बरू यसलाई अवसरको रूपमा लिएर जताततै ख्रीष्ट प्रचार गरौं। मण्डली सभाहरूको आयोजना गरी ख्रीष्ट प्रचारौं। यस मौसमको एउटा फाइदा यो हुन्छ कि मानिसहरू ख्रीष्टको बारेमा सुन्न, बुझ्न चाहान्छन्। ख्रीष्टमसको दिनमा परमेश्वरको वचन प्रचार गर्नु, ख्रीष्ट प्रचार गर्नु एउटा अवसर पनि हो। तर क्यारोल खेल्ने, ख्रीष्टमस ट्री सजाउने, बत्तीको झिलिमिली गर्ने, सन्त क्लाउसलाई महिमा दिने, नाच्ने, उफ्रने, गतिमति देखाउने जस्ता मानवीय गतिविधि, रीतिविधिलाई चाहिँ इन्कार गरौं। यी सबै कुराहरू आज्ञाको रूपमा होइन आग्रह हुन्। सबै भन्दा खुशीको कुरा त यो हो कि ख्रीष्ट आशारहित मानिसहरूका निम्ति संसारमा आउनुभयो र सबैका पापहरूका निम्ति मर्नुभयो र तेस्रो दिनमा जीवित हुनुभयो। उहाँलाई प्रभु र मुक्तिदाताको रूपमा विश्वास गर्नेहरूका पापहरू प्रायश्चित गरिन्छन्। ती अनन्त राज्यका भागीदार बन्दछन्। परमेश्वरले यस सुसमाचारद्वारा सबैलाई आशिषित बनाउनुभएको होस्।

सुसमाचार के हो त? यसलाई बुंदागत रूपमा यसरी हेर्न सकिन्छ, 

१. परमेश्वर पवित्र हुनुहुन्छ जसले कहिल्यै पाप गर्नुहुन्न, गल्ती गर्नुहुन्न। उहाँ प्रेमी हुनुहुन्छ (रोमी १:१-४)।

२. तर मानिस अभक्ति र अधर्ममा जिउँछन् जसविरुद्ध परमेश्वरको क्रोध प्रकट भएकोछ। (रोमी १:१८)।

३. परमेश्वरको अनुग्रहद्वारा ख्रीष्ट येशूमा भएको छुटकाराको कारणले सित्तैमा धर्मी ठहरिन्छन् (रोमी ३:२४)।

४. येशू ख्रीष्टलाई परमेश्वरले प्रायश्चित ठहराउनुभयो, जुन प्रायश्चित उहाँको रगतमा गरिएको विश्वासद्वारा कार्यकारी हुन्छ। प्रायश्चितको अर्थ पाप ढाक्ने प्रवन्ध हो। येशूमाथि विश्वास गर्नेले मुक्ति प्राप्त गर्दछन्। मानिस कामद्वारा होइन विश्वासद्वारा मुक्तिका भागीदार बन्दछन् (रोमी ३:२५,२८)। 

५. अब ख्रीष्ट येशूमा विश्वास गर्नेहरूले पवित्र, परमेश्वरलाई मन पर्ने नयाँ जीवन जिउनुपर्दछ।  (रोमी १२:१)।

     अतः ख्रीष्ट र ख्रीष्टमस विचमा तादात्म्यता त देखिएन तर यसैलाई अवसर पारी ख्रीष्ट प्रचार गर्नु बुद्धिमान र उपयुक्त ठहरिन्छ। परमेश्वरले तपाईहरू सबैलाई आशिष दिनुभएको होस्।

 

Leave a Reply