विश्वमा भएका ख्रीष्टिय मण्डलीहरूका आराधना सभा संचालन शैलीहरू फरक फरक रहेको पाइन्छ। कतिपया मण्डलीहरूमा संगीत समूहद्वारा भजन तथा गीतहरू गाउने कार्यहरूमा लामो समय लिएको पाइन्छ। त्यसपछि सूचना तथा जानकारीहरू गराउने गरिएको पाइन्छ। अन्तमा प्रवचन दिने गरिएको पाइन्छ। प्रवचन समय अत्यन्तै छोटो दिइएको पाइन्छ। कतिपया मण्डलीहरूमा भजन गाउने कार्यलाई अत्यन्तै छोटो समय दिइएको तर प्रवचनलाई लामो समय दिइएको देखिन्छ। कतिपया मण्डलीहरूमा रीतिविधिहरूलाई बढावा दिइएको देखिन्छ।
प्रार्थनाहरू हृदयबाट अभिव्यक्त नगरी प्रकाशित पुस्तकबाट पढ्ने, मैनवत्ती वाल्ने, क्रूसलाई ढोग्ने लगायतका अबाइबलीया रीतिविधिहरू गरिरहेको पाइन्छ। शिक्षामा पनि विभिधता पाइन्छ। पवित्र शास्त्र बाइबलमा शिक्षामा स्थिर भई अगमवक्ताहरू, प्रेरितहरूद्वारा प्रकाशित परमेश्वरका सत्यतामा रहेर सिकाउनुपर्ने तथ्य स्पष्ट गरी उल्लेख भएका छन्। साथै मण्डली सभा शैली, विधि संबन्धमा कतिपया तथ्यहरू बाइबलमा स्पष्ट रूपमा उल्लेख गरिएका छन्। पावल प्रेरितले १ कोरिन्थी १४:२६ मा मण्डली भेला हुँदा गरिनुपर्ने कार्यहरू र उद्देश्य उल्लेख गरेका छन्, “जब तिमीहरू भेला हुन्छौ, तब तिमीहरूमध्ये हरेकसंग भजन हुन्छ, शिक्षा हुन्छ, भाषा हुन्छ, प्रकाश हुन्छ, अनुवाद हुन्छ। सबै कुराहरू उन्नतिका निम्ति नै गरिऊन्।” प्रेरितहरूको शेषपछि कतिपया वरदानहरूको अन्त भएको थियो जसमध्ये विश्वास नगर्नेहरूका निम्ति परमेश्वरबाट चिन्ह स्वरूप दिइएको वरदान अन्यभाषा एक हो (१ कोरिन्थी १४:२२)। यस वरदानको अन्त भएको छ (१ कोरिन्थी १३:८,१०)। तसर्थ आजका सभाहरूमा भजन हुन्छ, शिक्षा हुन्छ। येशूले आफ्ना चेलाहरूको विचको सभामा अधिक समय शिक्षा दिने कार्यमा विताउनुभयो। त्यसपछि प्रार्थना गर्ने, भजन गाउने, चंगाई गर्ने, रोटी खुवाउने, चेलाहरूको गोडा धुने, शोकमा परेकाहरू विचमा पुग्ने र तिनका निम्ति रूने जस्ता कार्यहरू गर्नुभयो। यरूशलेममा स्थापित पहिलो मण्डलीमा गरिने सभा कार्यक्रम संबन्धमा प्रेरित २:४२ मा लेखिएको छ, “अनि तिनीहरू शिक्षामा, संगतिमा, रोटी भचाईमा र प्रार्थनाहरूमा दृढतापूर्वक लागिरहे”। यहाँ शिक्षा, संगति, रोटी भचाई र प्रार्थनाहरूको उल्लेख भएको छ। प्रथम मण्डलीहरूका मण्डली सभाहरूमा शिक्षा दिने कार्यलाई सर्वाधिक महत्व दिइएको थियो। मण्डली सभाहरूमा पहिलो र अनिवार्य सेवाकाई नै शिक्षा दिने सेवाकाई थियो। पास्टर परमेश्वरको वचनलाई ठीक ठीकसंग सिकेको र सिकाउन सक्ने हुनुपर्दछ। मण्डलीमा परमेश्वरको वचन सिकाउने कार्यलाई पर्याप्त समय दिनुपर्दछ। किनकि शिक्षाले नै मण्डलीको आत्मिक जीवन निर्माण गर्दछ।

प्रथम मण्डली रोटी भचाई, प्रार्थनाहरू, पारस्पारिक संगतिमा विश्वासीहरू निरन्तर लागिरहेका थिए। एकार्कालाई साथ, सहयोग, हौसला दिने कार्यमा पवित्र जनहरू लागिरहे। एक ठाउँमा भेला हुनु नयाँ नियम मण्डलीहरूको आवश्यकता र अभ्यास थियो (हिब्रू १०:२५)। तसर्थ शुरूका मण्डली सभाहरूमा एक साथ भेला हुँदा उचित संख्यामा भजनहरू एकसाथ गाउनु, गोठाला-शिक्षकहरूद्वारा परमेश्वरको वचनबाट सिकाउनु, प्रार्थनाहरूमा एकसाथ समय विताउनु, सुसमाचार सुनाउनु, समय समयमा रोटी भचाईमा भाग लिनु, एकार्कालाई उत्साह दिनु, खाँचोमा परेकाहरूलाई सहयोग गर्नु जस्ता कार्यहरू गरिएको देखिन्छ। वचनको भागलाई खुम्च्याउनु उपयुक्त देखिदैन। कुनै विषयमा सिकाउनको निम्ति एक पास्टर-शिक्षकले श्रोताहरूको सुन्ने धैर्यताको सीमामा रहि पर्याप्त समय लिनु महत्वपूर्ण हुन्छ। भजन-स्तुतिगानहरू धेरै पनि होइन थोरै पनि होइन समय सीमालाई ध्यानमा राख्दै वचन तथा अन्य कार्यक्रमको समय घटाउने काम नगरी उपयुक्त समय छुट्याई गाउनु राम्रो हुन्छ। मण्डली सभा कति लामो हुनुपर्ने भन्ने संबन्धमा पनि पर्याप्त गृहकार्य गरी अघि बढाउनु आवश्यक हुन्छ। कसैलाई एक घण्टाको सभा पनि लामो लाग्ने, कसैलाई दुई घण्टाको सभा पनि छोटो लाग्ने हुन सक्दछ। समय मण्डलीले गर्ने गरिरहेको अभ्यासमा पनि निर्भर हुन्छ। तर पर्याप्त रूपमा भजन गाउने कार्य गर्न तथा पर्याप्त रूपमा शिक्षा दिन कति समय आवश्यक पर्दछ सोको ख्याल गरी समय मिलाउन राम्रो हुन्छ। समय परिस्थितिमा समय लम्बिन वा छोटिन सक्दछ। त्रोआसमा पावलले मध्यरातसम्मै वचन बाँडेका थिए (प्रेरित २०:७)। मण्डलीको सहमति, अभ्यास र विशेष अवसरलाई ध्यानमा राखेर समयलाई व्यवस्थापन गर्नु राम्रो हुन्छ। जहाँ अत्यन्तै व्यस्त कार्यतालिकामा चल्नुपर्ने अवस्था रहेको हुन्छ ती स्थानहरूमा त्यही बमोजिम समय व्यवस्थापन गर्नु बुद्धिमान ठहरिन्छ। मूलतः संगति वा सभा जुट्नुको उद्देश्य पवित्र जनहरूको आत्मिक उन्नति, विश्वासमा वृद्धि हुने हुँदा वचनको भागलाई सभा समयको ५०% समय दिनु उपयुक्त हुन सक्दछ। किनकि विश्वास सुनाईबाट आउँछ र सुनाई परमेश्वरको वचनबाट आउँछ। जस्तै, ढेड घण्टाको सभा राखिने हो भने वचन ४५ मिनेट; भजन २० मिनेट; प्रार्थनाहरू, साक्षी, सूचनाहरू वा जानाकारीहरूको निम्ति २५ मिनेट उपयुक्त हुन सक्दछ।
वचन बाँड्दा सुसमाचार पनि त्यसैमा संलग्न गर्नु आवश्यक र उचित हुन्छ। रोटी भचाईको सभाको दिनमा यस अघि उल्लेखित समयमा थप ३० मिनेट थप्दा उचित हुन सक्दछ। यसरी समय विभाजनको केहि रूपरेखा दिइरहँदा यो बुझ्न जरूरी छ कि समय तथा कार्यक्रम मिलाउने जिम्मेवारी एक स्थानीय मण्डलीको नै हो। उपरोक्त सुझावहरू थप सहयोगको निम्ति दिइएका हुन्।
