मैले क्राउन नेपाल बाइबल कलेज अध्ययन गर्ने क्रममा परमेश्वरको ज्ञानद्वारा मेरो आत्मिकी जीवनमा धेरै आशिष को महशुस गरेको छु। मेरो लागि बाइबल कलेज अध्ययन गर्न पाउनु नै ठूलो आशीष हो। परमेश्वरको अनुग्रहमा हाम्रा अगुवाहरूको विश्वासयोग्यताको कारण नै हाम्रो लागि बाइबल कलेज अध्ययन गर्न सम्भव भएको हो। शुरुमा बाइबल कलेज अध्ययनलाई मैले हल्का ठानेको थिए। हप्तामा २ घण्टा चर्चमा बाइबल अध्ययनलाई नै पर्याप्त ठान्दथे। तर यति अध्ययन द्वारा मात्र हाम्रो आत्मीकी जिवन बलियो नहुने रहेछ।
जब क्राउन नेपाल बाइबल कलेज शुरू भयो। मलाई पनि अगुवाहरूको उत्साहको कारण कलेज पढ्ने इच्छा भयो। यस कार्यमा हाम्रा आदरणीय पास्टर दाजु यू. जे. गुरुङ, आदरणीय दिदी मिना गुरुङ र आदरणीय भाई आदर्श जंग गुरुङले कठोर परिश्रम साथ हामीलाई परमेश्वरको वचनबाट सिकाउनुभयो। यसबाट अन्तत परमेश्वर कै महिमा भएको छ।
परमेश्वरको वचन, बाइबल स्वर्गीय ज्योतिको प्रकाश अध्ययनद्वारा मैले परमेश्वरको प्रेमलाई झन नजिकबाट जान्न पाएँ, पवित्रता तर्फ उन्मुख हुन पाएँ। संसारको कुनै पनि पुस्तकद्वारा परिवर्तन नभएको मेरो जीवन बाइबल अध्ययन गर्दा, मेरो जीवन धेरै परिवर्तन हुदै जान थाल्यो। परमेश्वरको वचनको ज्ञानले ख्रीष्ट जस्तै पवित्र बनिँदै जान हामीलाई सहायता मिल्दछ।
“परमेश्वरको वचन मेरो पाउहरूका निम्ति बत्ती र मेरो बाटोको निम्ती ज्योती बन्यो।” भजनसंग्रह ११९:१०५
हामीले अगुवाजनहरूको हामी प्रतिको आत्मिकी प्रगाढ प्रेम बुझ्न सक्दछौं। जसद्वारा हामी आपसमा मेल- मिलापको बन्धनमा आत्माको एकता कायम राख्ने प्रयत्न गर्न सक्दछौं। – एफेसी ४:३। परमेश्वरले आफ्नो वचन ४० भन्दा बढि व्यक्तिहरूद्वारा १५०० भन्दा बढि समयावधि लगाएर तयार पार्नुभयो। हाम्रो विश्वास र सिकाईको एक मात्र अख्तियार बाइबल हो। बाइबल हाम्रो लागि पूर्ण र पर्याप्त छ। बाइबल बहुमूल्य धन हो। यसको लेखक परमेश्वर हुनुहुन्छ। बाइबल सिद्ध पुस्तक हो। हाम्रो विश्वासको कारण निश्चयतापूर्ण जीवन हामी जिउँदछौं। हाम्रो विश्वासले हाम्रो व्यवहार निर्धारण गर्दछ। बाइबल पढ्नको लागि र पालन गर्नको लागि हो।
बाइबल सारा संसारमा परमेश्वर को हुनुहुन्छ र कस्तो हुनुहुन्छ भनेर बताउने एक मात्र विश्वसनीय श्रोत हो, मानिसको लागि परमेश्वरको व्यक्तित्व र वचनको प्रकाश हो। बाइबलले मात्र हामी कहाँबाट आयौं र हामी किन यहाँ छौं र मृत्युपछि कहाँ जानेछौं भनेर हाम्रो जीवनको अर्थ बताउँदछ, हामीलाई वास्तविक स्वर्ग र नरकको बारेमा स्पष्ट बताउँदछ, कसरी हामी स्वर्ग जान सक्छौ भनी बताउँछ। परमेश्वरलाई धन्यवाद होस् यूहन्ना ३:१६ अनुसार परमेश्वरमा हामीले अनन्त जीवन पाएका छौं। स्वर्गीय भागिदार भएका छौं येशू ख्रीष्ट माथि राखिएको विश्वासद्वारा हामी नष्ट भएका छैनौ।
परमेश्वरलाई धन्यवाद होस् उहाँको महान प्रेमको लागि, र हाम्रा आदरणीय अगुवा जनहरूलाई उहाँहरूको निरन्तर उत्साहको साथै बाइबल कलेजमा बोझका साथ सेवामा लागिरहनु भएको लागि धेरै धेरै धन्यवाद दिन्छु। उहाँहरूलाई परमेश्वरले आशिष दिनुभएको होस्। क्राउन नेपाल बाइबल कलेजलाई पनि धन्यवाद दिन्छु। जसबाट मैले परमेश्वरको सत्यता गहिरिएर सिक्ने अवसरहरू पाएको छु। हुन त मैले चार बर्षे बाइबल अध्ययन पूरा गरे तर पनि मैले अझै धेरै सिक्न बाँकी छ र म सिक्दै छु।
क्राउन नेपाल बाइबल कलेज अध्ययन गरिरहनु भएको सम्पूर्ण भाई बहिनीहरूलाई म यो उत्साह दिन चाहन्छु। तपाईहरूले मेहेनत साथ अध्ययन पूरा गर्नुहोस्। यसले हाम्रो आत्मिक जीवन बलियो हुन्छ र संसारका कुनै पनि कुराले विश्वासको जरा हल्लाउन सक्दैन। जतिले बाइबल कलेज अध्ययन शुरू गर्नु भएको छैन तपाईहरूले अध्ययन शुरु गर्नुहोस् भनी म उत्साह दिन चाहन्छु। परमेश्वरको वचन अध्ययन गर्न पाउँनु ठूलो अवसर हो। पाएको अवसर नगुमाउनुहोस्।
मेरो लागि प्रार्थना गरिदिनुहोला, म सेवामा बढ्न चाहन्छु।
